Tuesday 9 October 2012

अफ्रिकामा नेपालीको बिचल्ली

काठमाडौ, श्रावण ५ - वैदेशिक रोजगारीको प्रलोभन दिँदै दक्षिण अफ्रिकाको पूर्वी कुनामा पर्ने टापु मदागास्करमा चार महिनाअघि पुर्‍याइएका २० नेपाली बिचल्लीको स्थितिमा पुगेका छन् । काठमाडौं, दिल्ली र मदागास्करका दलालहरूले जनही साढे ३ लाख रुपैयाँ असुल्दै हिन्द महासागरको टापुमा पुर्‍याइएका उनीहरूसँग अहिले खाना खाने खर्च समेत सकिएको छ । मदागास्कर टापुसँग नेपाल सरकारको कूटनीतिक सम्बन्ध नरहेको र सहप्रमाणीकरणको जिम्मेवारी अन्य कुनै मुलुकलाई नतोकिएको कारण परराष्ट्र मन्त्रालयले अलपत्र नेपालीको उद्धारमा इजिप्टको कायरो र दक्षिण अफ्रिकाको पि्रटोरियास्थित नेपाली दूतावासलाई एकसाथ पत्राचार गरेको छ । 'मदागास्करसँग हाम्रो कुनै प्रकारको कूटनीतिक सम्पर्क नरहे पनि भौगोलिक आधारमा यो दूतावासको निकटता रहेकाले पीडित नेपालीसँग सम्पर्क स्थापित गर्ने र उद्धारमा भरथेग गर्ने पहल गरिरहेका छौं,' पि्रटोरियास्थित दूतावासका काउन्सिलर भरत रेग्मीले कान्तिपुरसँग भने । पि्रटोरियाबाट मदागास्कर अढाई घन्टाको हवाइ दूरीमा छ । मदागास्करमा अलपत्र बनेका झापा, काँकडभिट्टा खड्गबहादुर दाहालका अनुसार स्थानीय दलालले उनीसहित ५ जनालाई राखेको होटलमा एक महिनादेखि खानपिनको खर्च तिर्न बाँकी छ भने चार दिनयता बिजुली-पानी पनि कटौती गरिएको छ । दाहालसहित श्याम आले मगर -मोरङ), लालबाबु ठाकुर -सर्लाही), श्याम श्रेष्ठ -काठमाडौं) र आशीष तामाङ (मोरङ) एउटा होटलमा छन् । दाहालका अनुसार सुसन्थेकस्थित अर्को घरमा ८ जना र तानास्थित होटल लम्पाटमा ७ जना नेपाली बिचल्ली अवस्थामा छन् । दलालहरू सुनिल शाही (काठमाडौं), खेमबहादुर राई (दिल्ली) र यादव नेपाल (मदागास्कर) ले उनीहरूलाई काठमाडौं, दिल्ली, मुम्बई, केन्या हुँदै मदागास्कर पुर्‍याएका थिए । यीमध्ये पीडितका आफन्तहरूको उजुरी र ताकेतापछि एजेन्ट शाहीलाई एक महिनाअघि पक्राउ गरेर हनमाुनढोका थुनामा राखिएको छ भने नेपाल मदागास्करमै छन् । उनीहरूसँग दिल्लीमा नक्कली भिसा, कागजात सहितको 'सेटिङ' मिलाउने भारतीय नागरिक रविचन्द्र यादव पनि छन् । पीडित ढकालका अनुसार म्यानपावर दलाल शाहीको जालोबाहेक सामाखुसीका प्रेम सेनले पनि मादागास्करमा पुर्‍याएर नेपाली अलपत्र पारेका छन् । ढकालले बिचल्ली परे पनि सबैको राहदानी साथमै रहेको समेत जानकारी दिए । 'मैले असार तेस्रो सातामा वैदेशिक रोजगार विभाग र परराष्ट्रको कन्सुलर शाखामा निवेदन दिएकी थिएँ । एजेन्ट शाहीलाई पक्राउ गर्नमा पनि सहयोग गरेकी हुँ,' काँकडभिट्टा बस्दै आएकी ढकालकी श्रीमती कमला तामाङले फोनमा भनिन् । अर्का अलपत्र ठाकुरका दाजु कपुरी पनि स्वयम्भूमा एक सैलुन चलाएर गुजारा गरिरहेका छन् ।

No comments:

Post a Comment