Tuesday 9 October 2012

'नयाँ आधारमा सहमति गर्ने छलफल भइरहेको छ'

काठमाडौं, असोज २३ (नागरिक) - एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शुशील कोइरालासँग नयाँ आधारमा सहमति गर्ने छलफल भइरहेको बताएका छन्। आज कोइरालासँग छलफल भएको जानकारी दिंदै दाहालले असोजभित्र सहमति हुन नसक्ने बताए। कोइराला पश्चिमतिर गएको र आफू केही दिन देश बाहिर रहने भएकाले असोजभित्र सहमति हुन नसक्ने दाहाले बताए। आफूहरू उपत्यका बाहिर हुँदा सहमति गर्न नसकेको भन्ने भ्रममा नपर्न उनले आग्रह गरे। 'पुराना विवादित विषयमा सहमति हुन सकेन। अब नयाँ आधारमा सहमति गरौं भन्नेमा शुशील जी र मेरो भरखरै छलफल भएको छ', उनले भने- 'शुशील जी पश्चिम जानु भएको छ। म केही दिन बाहिर रहने भएकाले असोज मसान्तभित्र सहमति नहुन सक्छ।' कमलादी स्थित जनसञ्चार अभियानको नयाँ कार्यालय उद्घाटन गर्दै दाहालले संविधानसभा पुर्नस्थापना गरेर संविधान घोषणा गरेर जाऔं भन्दा चुनावमा जान नचाहेको भन्ने आरोप झुठा भएको बताए। 'निर्वाचनमा जानका लागि पनि राष्ट्रिय सहमतिको सरकार चाहिन्छ। संविधानका विवादित विषयमा सहमति गरेर छोटो समयका लागि संविधानसभा पुर्नस्थापना गरौं भनेका छौं। यसको अर्थ निर्वाचनमा जान खोजेन भन्ने होइन', उनले भने। पार्टी विभाजबाट कमजोर भएकाले चुनावमा जान नचाहेको आरोप झुठा भएको उनले बताए। 'कांग्रेसकै पूर्व सभासद्हरूले हिजो ज्ञापन बुझाएका छन्। उनीहरूले पुर्नस्थापनाको माग गरेका छन्। सहमतिको नयाँ उपाय निकालौं भनेर त्यो प्रस्ताव गरिएको हो', उनले भने। आफ्नै पार्टी नेतृत्व सरकारले चुनावको घोषणा गरेकाले चुनावमा जान कुनै अपत्ति नभएको उनले बताए। 'निर्वाचनदेखि बिल्कुल डराउँदैनौं। चुनावमा जाँदा पनि सभासद्को संख्या कति हुने। तिथि मिति घोषणा गर्ने, उमेरको हकमा के गर्ने लगायत सबै विषयमा राष्ट्रिय सहमतिको सरकार चाहिन्छ। संविधानसभा जिवित रहँदा स्वयं म विवाद समितिको अध्यक्ष भएकाले सहमति मैले टाढा देखेको छैन', उनले भने। एमाले नेताहरूले तल्लो स्तरमा झरेर आफूहरूलाई गालिगैलाज गरेर सहमति भाँडन खोजेको गुनासो दाहालले पोखे। दाहालले भने- 'एमालेका साथीहरुले तल्लो स्तरमा झरेर गालिगैलाज गर्छन। मैले प्रस्ताव छक्काउन लिएको होइन। सहमतिको लागि नयाँ प्रस्ताव लिएको हुँ।' संविधानसभामा ठूलो दलको हैसियत र शान्ति प्रक्रियाको मुख्य अंश सेना समायोजन गरिसकेकाले सहमतिको नयाँ प्रस्ताव आफूले राखेको उनले बताए। 'संघीय गणतन्त्रमा विवादित छैन। पहिचान सहितको संघीयतामा जातीय राख्ने कि नराख्ने लगायत विषयमा मात्रै विवाद हो। यी विषयहरूमा नयाँ सिराबाट छलफल गरौं', उनले भने। सहमति भए तत्काल सरकार छोड्न पार्टी तयार भएको उनले बताए। सहमतिबिना सरकार छोडेर मुलुकलाई थप खाडलमा पर्न नदिने उनले बताए। 'सहमतिबिना सरकार छोड्दा प्रतिगामीहरूले आफ्नो गुमेको सत्तालाई फर्काउन खोज्ने छन्', उनले भने।

No comments:

Post a Comment