Tuesday 9 October 2012

मनाङलाई जित उपहार

काठमाडौ, आश्विन २२ - एउटा नीरस खेलको यो भन्दा खराब अन्त्य अरू हुन सक्दैन । मनाङ-मस्र्याङ्दी र एपीएफबीचको आइतबारको क्वाटरफाइनल खेलले कुनै प्रकारको रोमाञ्चकता पैदा गर्न सकेन । मनाङले जितसँगै अन्तिम चारको यात्रा तय गर्‍यो, तर यो उपहारका रूपमा प्राप्त भएको थियो । यसका लागि मनाङले एपीएफ गोलरक्षक समित राजभण्डारीलाई धन्यवाद दिनुपर्नेछ । खेल टाइब्रेकरतर्फ अग्रसर भइरहेका बेला समितले अविश्वसनीय रूपमा ठूलो भूल गरे र टिमले त्यसको चर्को मूल्य तिर्नु पर्‍यो । समितले १ सय नवौं मिनेटमा आफूतर्फ आइरहेको बल क्लियर गर्न पेनाल्टी एरिया के छाडेका थिए, बलमाथि नियन्त्रण राख्न सकेनन् । यस्तोमा अनिल गुरुङसामु खाली पोस्टमा बल प्रहारको मौका बनेको थियो । त्यसमा अनिल चुकेनन् पनि । अन्यथा खेलको अधिकांश समय एपीएफले नियन्त्रण राखेको थियो र जितको हकदार धेरै हदसम्म एपीएफ देखिएको थियो । त्यसको ठीकविपरीत मनाङले आफ्नो प्रतिष्ठाअनुसार राम्रो प्रदर्शन गर्न सकेन । पूरा १ सय २० मिनेटमा मनाङले गोलको अवसरमा बाहेक अरू बेला माथिल्लो दर्जाको खेल प्रदर्शन गर्न सकेन । मनाङ प्रशिक्षक कृष्ण थापाले पनि माने, टिमको प्रदर्शन राम्रो रहेन । तर जितमा उनको तर्क थियो, 'म त्यस्तो प्रशिक्षक हुँ, जसलाई राम्रो खेलेर हार्नु भन्दा खराब खेलेर जितेको मन पर्छ । आजको खेलमा दुवै टिमका खेलाडीले खराब खेले । फरक के भने त्यसको फाइदा मनाङले उठायो, एपीएफले उठाउन सकेन ।' खेलको सबैभन्दा राम्रो मौका ५७ औं मिनेटमा सिर्जना भएको थियो । एपीएफ फरवार्ड गणेश लावतीले गरेको शक्तिशाली प्रहार मनाङ गोलपोस्टको बारको भित्री भागमा लागेर फर्केको थियो । त्यसबाहेक गणेशले ७५ औं मिनेटमा गरेको अर्को प्रहार पनि पोस्टनजिकबाट बाहिरियो । एपीएफ प्रशिक्षक जनकसिंह थारूले पनि गोलरक्षककै भूलमा हार भएको स्वीकारे । तर हारमा उनको जिकिर के पनि थियो भने रेफ्री का धेरै निर्णय सही थिएनन् र यसले टिमलाई धेरै घाटा भयो । उनले थपे, 'खेल पूर्णतः हाम्रो नियन्त्रणमा थियो ।' अब सेमिफाइनलमा मनाङको सामना पुलिस र संकटाबीचको विजेतासँग हुनेछ । 'त्यो खेलमा हाम्रो प्रदर्शनमा धेरै सुधार हुनुपर्नेछ र हामी त्यसका लागि तयार पनि छौं,' प्रशिक्षक थापाले भने ।

No comments:

Post a Comment