Tuesday 9 October 2012

अख्तियारद्वारा सीटीईभीटीमा छानबिन सुरु

भक्तपुर, आश्विन २४ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीटीईभीटीको प्रश्नपत्र बाहिरिएको घटना छानबिन सुरु गरेको छ । साउन पहिलो साता लिएको प्रवेश परीक्षाअघि नै प्रश्नपत्र र त्यसको उत्तर सेट बाहिरिएको थियो । शिक्षा मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा सीटीईभीटीले परीक्षा रद्द गरेको थियो । प्रश्नपत्र बाहिर ल्याउनेलाई कारबाही गर्न छानबिन थाले पनि सीटीईभीटीले बेलैमा आवश्यक कागज उपलब्ध नगराएको अख्तियार स्रोतले जनाएको छ । छानबिनका लागि १२ जनालाई बयानका लागि बोलाएको स्रोतले जनाएको छ । असोज १२ मा अख्तियारले बयानका लागि उपस्थित गराउन सीटीईभीटीलाई पत्राचार गरे पनि २२ गते मात्रै पत्र सार्वजनिक गरेको छ । 'अख्तियारले पठाएको पत्र सीटीईभीटी पुग्न १० दिन लागेछ,' सीटीईभीटी स्रोतले भन्यो । अख्तियारले पठाएको पत्र लुकाउन खोजेपछि आइबार बसेको निर्देशकहरूको बैठकमा छानबिन ढिलाइ भएको कुरा उठेपछि पत्र बाहिर ल्याएको स्रोतको दाबी छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सीटीईभीटीको भन्दा पछि इन्जिनियरिङको प्रश्नपत्र बाहिरिएको भए पनि १० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याइसकेको छ । 'सीटीईभीटीका पदाधिकारीले सीआईबीले छानबिन गर्दा आफू मुछिने डरले छानबिन गरिदिन भन्न सकेको छैन,' शिक्षा मन्त्रालयका एक सहसचिवले भने, 'अन्यत्र पैसाले किन्न सकेपछि सीआईबीलाई किन्न सक्दैनन् ।' निर्देशकको बैठकमा सीआईबीलाई छानबिनका लागि आग्रह गर्ने कुरा उठे पनि सीटीईभीटीका सदस्य सचिव जयबहादुर टन्डनले आफूलाई त्यसको अधिकार नभएको भन्दै पन्छिएको बैठकमा सहभागीले जानकारी दिए । प्रश्नपत्र बाहिरिएको दुई महिना बित्दा पनि घटना थामथुम गर्न सीटीईभीटीका अध्यक्ष शिक्षामन्त्री दिनानाथ शर्मा, उपाध्यक्ष गोपाल खनाल र सदस्य सचिव टन्डन लागिपरेको भन्दै सीटीईभीटीका कर्मचारी संघ-संस्थाले विरोध गरेका छन् । घटनाको यथार्थ बुझ्न अख्तियारले पूर्वाञ्चलमा नतिजा सार्वजनिक गर्न पुगेका निर्देशक नीरबहादुर जिरेलसहित १२ जनालाई बयानका लागि बोलाएको स्रोतले जनाएको छ । जिरेल लगायतले मंगलबार बयान दिएको अख्तियारले जनाएको छ ।

No comments:

Post a Comment