Tuesday 9 October 2012

फोरम गणतान्त्रिक-सशस्त्र समूह एकता पहल

काठमाडौं, असोज २४ - सत्तारूढ मधेसी जनअधिकार फोरम गणतान्त्रिकले तराइ भूमिगत सशस्त्र समूहहरूसँग एकीकरण तयारी गरेको छ। सशस्त्र समूहलाई वार्तामा ल्याउन सरकारी तहबाट भएका प्रयास सार्थक बन्न नसकेको निष्कर्षसहित ती समूहलाई शान्तिपूर्ण राजनीतिक बाटोमा ल्याएर एकीकरणको प्रयास थाल्ने विषयमा सहमति भएको पार्टीका एक वरिष्ठ नेताले बताए। तराईमा भूमिगत राजनीतिक गरिरहेका समूहमध्ये मधेसी टाइगर, भाइरस किलर, तराई जनतान्त्रिक मुक्तिमोर्चा जनतान्त्रिक ज्वाला सिंह समूहसँग एकीकरणका गर्ने विषयमा बैठकमा गम्भीर छलफल भएको एक केन्द्रीय सदस्यले बताए। फोरम गणतान्त्रिकको सोमबार र मंगलबार वीरगन्जमा बसेको बैठकले यसलाई सार्थक रुप दिन भन्दै केन्द्रीय महासचिव अकवाल अहमत साह संयोजक रहेको वार्ता समिति बनाएको छ। ती समूहसँग विभिन्न चरणमा वार्ता भइरहेको र एकीकरणका लागि सार्थक प्रयास थाल्न महासचिव संयोजक रहेका तीन सदस्य वार्ता कमिटी बनाइएको वरिष्ठ नेता बिपी यादवले बनाए। समितिका अन्य सदस्यमा वरिष्ठ नेता यादव र राजलाल यादव छन्। सशस्त्र समूहसँग विभिन्न नेताको भेटघाट र वार्ता भइरहेको र ती समूहसमेत एकीकरणमा सकारात्मक रहेको बारे बैठकमा छलफल भएको थियो। कसरी शान्तिपूर्ण बाटोमा ल्याएर एकीकरण गर्ने भन्ने प्रक्रियामा समेत छलफल भएको ती नेताले जानकारी दिए। वरिष्ठ नेता यादवले देश शान्तिको बाटोमा रहेको अवस्थामा मधेस सधैं अशान्त देखिएकाले त्यसको अन्त्य गर्ने एवं मधेसमा आफ्नो पार्टीलाई बलियो बनाउन एकीकरण अवधारणा अगाडि सारिएको बताए। 'जहाँ भए पनि हाम्रै साथीहरू हुन्, वार्तामार्फत शान्तिपूर्ण मूलधारमा ल्याउन हामीले प्रयास थालेका हौं,' उनले भने। पार्टीमा असन्तुष्ट रहेका नन्दन दत्तको समूहसँग पनि छलफल गरेर सकेसम्म सम्बोधन गर्ने निर्णय भएको उनले जानकारी दिए। नेता यादवले लोकतान्त्रिक फोरम, संघीय सद्भावना, विकास तिवारीले नेतृत्व गरेको सद्भावनासँग पनि एकीकरणबारे छलफल भइरहेको बताए। महासचिव साहले पनि तराईमा एउटा बलियो शक्ति निर्माणका लागि सानाठूला सबै शक्तिसँग एकीकरणको प्रयास गर्ने बताए। उनले विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने र नगर्ने सबै दलहरुसँग वार्ता गरेर एकीकरण प्रयास भइरहेको उनले जानकारी दिए। महाधिवेशन सर्‍यो केन्द्रीय कार्यसमितिको बैठकले आगामी कात्तिक १५, १६ र १७ गते वीरगन्जमा गर्न घोषणा गरिएको प्रथम राष्ट्रिय महाधिवेशन कात्तिक २१, २२ र २३ गते सोही ठाउँमा गर्ने निर्णय गरेको छ। अधिवेशनका लागि तयारी नपुगको भन्दै केन्द्रीय समितिले महाधिवेशन सार्ने निर्णय गरेको हो। संगठन रहेका मध्ये नवलपरासी, कपिलवस्तु र रुपन्देहीमा जिल्ला अधिवेशन हुन बाँकी रहेको र अन्य राजनीतिक परिस्थितिका कारण पनि महाधिवेशन सार्नुपरेको महासचिव साहले बताए। स्रोतका अनुसार पछिल्लो समय आन्तरिक विवादका कारण नन्दन दत्तको समूह अलग भएपछि पार्टीमा उत्पन्न संकटले महाधिवेशन सार्ने निर्णय भएको हो। अन्य पार्टीसँग वार्ता गर्न गठित समूहले नै असन्तुष्ट पक्षसँग वार्ता गरेर सकेसम्म महाधिवेशनमै एक भएर जाने प्रयासका लागि महाधिवेशन सार्ने निर्णय भएको एक केन्द्रीय सदस्यले बताए। संस्थापक अध्यक्ष जेपी गुप्ता भ्रष्टाचार मुद्दामा जेल परेपछि पार्टीभित्र विवाद चर्किएको थियो।

No comments:

Post a Comment